प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत, जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा भने छलफल नभएको मन्त्री शर्माले जानकारी दिइन्।

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्युयोर्क भ्रमण स्वीकृत गरेको छ।

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री दाहालको न्युयोर्क भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदैछन्। यस्तै, बैठकले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्नेसमेत निर्णय गरेको मन्त्री शर्माले बताइन्। 

मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र तथा सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने तीन अर्ब २० करोड ६० लाख जापानी येन अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई एकसाथ संलग्न नेपाल धितोपत्र निष्कासन सातौँ संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा भने छलफल नभएको मन्त्री शर्माले जानकारी दिइन्।