मेस्सीप्रेरित इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

सिन्सिनाटीलाई टाइब्रेकरमा पराजित गर्दै मियामी उपाधि नजिक पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

काठमाडौँ– लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियमी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान भएको सेमीफाइनलमा सिन्सिनाटीलाई टाइब्रेकरमा ४–५ ले पराजित गर्दै मियामी उपाधि नजिक पुगेको हो। 

निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा दुवै टोलीले शुरूआती ४–४ प्रहारमा गोल गरेका थिए। सिन्सिनाटिका हागलन्डले गरेको पाँचौ प्रहार मियामीका गोलरक्षक क्यालेन्डरले बचाए। त्यसपछि मियामीका क्रेमास्कीले गोल गर्दै जित दिलाए।

टीक्यूएल स्टेडियममा खेलको १८औँ मिनेटमा लुसियानो अकोस्टाले गोल गर्दै घरेलु टोली सिन्सिनाटीलाई अग्रता दिलाए। ५३औँ मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै अग्रता दोब्बर पारे। 

६८औँ मिनेटमा मियामीका लिओनार्डो काम्पानाले गोल गरे। लिओनल मेस्सीको फ्रिकिकमा उनले हेडरमार्फत गोल गरेका थिए। इन्जुरी समयको आठौँ मिनेटमा काम्पानाले नै गोल गर्दै खेल बराबरीमा ल्याए। मेस्सीकै पासमा काम्पानाले गोल गरेका थिए। 

अतिरिक्त समयको पहिलो हाफमा मियामीका जोसेफ मार्टिनेजले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए। दोस्रो हाफमा सिन्सिनाटीका युया कुबोले गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

अब मियामीले उपाधिका लागि ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीचको विजेतासँग सेप्टेम्बर २७ मा प्रतिस्पर्धा गर्नेछ।