विमान दुर्घटनामा रुसको वाग्नर समूहका प्रमुखसहित १० जनाको मृत्यु

वरिष्ठ रुसी जनरल सर्गेई सुरोविकिनलाई वायुसेना प्रमुखको पदबाट बर्खास्त गरिएकै दिन विमान दुर्घटना भएको हो।

रुसको तेवेर शहरमा विमान दुर्घटना हुँदा त्यहाँको निजी सैन्य समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनसहित १० जनाको मृत्यु भएको छ।

बुधबार भएको दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालले उनको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको बताएको छ। 

वरिष्ठ रुसी जनरल सर्गेई सुरोविकिनलाई वायुसेना प्रमुखको पदबाट बर्खास्त गरिएकै दिन विमान दुर्घटना भएको हो।

रुसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप प्रिगोजिनको मृत्यु भएको ग्रे जोन टेलिग्राम च्यानललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरूलाई पर्याप्त हतियार नदिएको भन्दै वाग्नर समूह असन्तुष्ट थियो। 

वाग्नर समूह यसअघि युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो। आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्कोसमेत कब्जा गर्ने धम्की दिएको थियो। 

त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले सजाय भोग्नुपर्ने चेतावनी दिएका थिए।