गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सिग्देल निर्वाचित

नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कास्की– गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा बुधबार राति सम्पन्न संघको दोस्रो अधिवेशनले सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।

संघको उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा (स्याङ्जा) चयन भए। 

यसैगरी सदस्यमा देवेन्द्र प्रजु (कास्की), ऋषिराम गौतम (कास्की), फणीन्द्रबहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशमबहादुर केसी (पर्वत), विद्यादेवी भट्टराई (स्याङ्जा), भोजराज बराल (कास्की) र सन्तोष शर्मा (बागलुङ) रहेका छन्।

नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रूपमा विकास गर्न सरोकार निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए। प्रदेश सरकार तथा महानगरसँग मिलेर क्रिकेटका पूर्वाधार निर्माण आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

“पोखरालाई काठमाडौँपछिको सौन्दर्यकै हिसाबले पनि अन्तर्राष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट संघले समेत प्रतिबद्धता जाहेर गरेको छ। यहाँ हामी पनि सबैसँग समन्वय गरेर सुविधासम्पन्न पूर्वाधार निर्माणका लागि काम गर्छौं,” उनले भने।