३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

सिरहाको भगवानपुर गाउँपालिकामा १८ महिनामा सक्नेगरी २०७४ असोज ६ सबस्टेसन निर्माणको ठेक्का लागेको थियो। तर, ठेकेदारको ढिलासुस्तीले तस्रोपटक म्याद थप्दासमेत पूरा भएको छैन।

फाइल तस्वीर

गोलबजार– सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण सम्पन्न भएको छैन। हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ।  

निर्माणको ठेक्का लिएको मुडभरी एन्ड जोशी आरके इन्टरनेसनलको ढिलासुस्तीले सबस्टेसन निर्माणमा ढिलाइ भएको हो। सरकारको सिंगल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको नेपाल विद्युत् प्राधिकरण, मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए। 

२०७४ असोज ६ गते काम शुरू गरेर १८ महिनामा सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए।

“स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँ–ठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो,” उनले भने। लहान वितरण केन्द्रअन्तर्गत ७० हजार ग्राहक रहेका छन् । गर्मीको समयमा विद्युत् आउने जाने भइरहने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सबस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ। 

योजनाअन्तर्गत अब ३७६ पोल गाड्नुपर्ने छ। हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ। उक्त सबस्टेसन १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ।