‘बुङमती–खोकना भएर फास्ट ट्र्याक अब जाँदैन, हामी जान दिँदैनौँ। बोर्ड बैठकले पारित गरेपछि सिंगो ललितपुर महानगरपालिकाको आधिकारिक धारणा यही हुनेछ।’
(नेपाली सेनालाई जिम्मा दिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट–ट्र्याक) निर्माणका क्रममा सबभन्दा धेरै समस्या परेको क्षेत्र हो, ललितपुरको बुङमती–खोकना क्षेत्र। काठमाडौँ र तराई मधेशको सिधा र सहज कनेक्टिभिटीमार्फत् आर्थिक, सामाजिक रूपान्तरणलाई मार्गप्रशस्त गर्ने, निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागिसमेत अत्यावश्यक भन्दै आर्थिक वर्ष २०६५/६६ मा द्रुतमार्गको आयोजना शुरू भएको थियो। प्रारम्भमा भारतीय कम्पनी आईएलएफएसले द्रुतमार्ग निर्माणको सम्झौता गरे पनि पछि त्यो रद्द भएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै द्रुतमार्ग बनाउने निर्णय भएको थियो। पछि सरकारले यो आयोजना निर्माणको काम सेनालाई जिम्मा लगायो।
शुरूमा ३६ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाको लागत अहिले नै झन्डै साढे आठ गुणाले बढेर करिब तीन सय अर्ब पुग्ने अनुमान छ। राष्ट्रिय गौरवको यो आयोजनाको शुरू विन्दु ललितपुर महानगरपालिका वडा नम्बर २१ मा पर्ने खोकनास्थित सिकाली मन्दिरनजिकैको चौर (कुदेश) लाई बनाउने तय भएको छ। खोकनाको ८ किलोमिटर र सँगै रहेको बुङमतीको ३ किलोमिटर क्षेत्र भएर द्रुतमार्ग जाने गरी यसको डिजाइन भएको छ। यही शुरू विन्दु नै समस्याको कारण बनेको हो।
सेनाले त्यहाँको चार सय रोपनीभन्दा धेरै जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाउन खोजेपछि यो विषय पेचिलो बन्दै आएको छ। अधिग्रहणको कुरा नमिलेको भनिए पनि खासमा यो समस्या सम्पदास्थल भनिने ती ठाउँको पहिचानसँग जोडिएको छ। लिच्छविकालीन सम्पदा रहेको मानिने बुङमती र खोकनाबाट फास्ट–ट्र्याक लैजाँदा ऐतिहासिक र सांस्कृतिक सम्पदा मासिने भन्दै स्थानीय बासिन्दादेखि सम्पदाविद्हरूसमेत विरोधमा छन्।
खोकना र बुङमतीमा द्रुतमार्ग प्रवेशसँगै परम्परागत गुठीको जग्गा र स्थानीयको जग्गा मासिने, १३२ केभीको हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, सुरुङ मार्ग, स्मार्ट सिटी लगायतका अन्य ठूला परियोजना भित्रिने, त्यसबाट कृषिप्रधान खोकना क्षेत्रको दैनिकीसँगै खोकना–बुङमतीको सभ्यता नै मासिने अभियन्ताहरूको तर्क छ।यसपछि विकल्पका रूपमा ७ किलोमिटर टाढा रहेको ललितपुरकै फर्सीडोललाई पनि शुरू विन्दु बनाउन सकिने कुरा उठ्यो, तर विवाद समाधान भएन। विवाद र विरोधको यो शृंखला चल्न थालेको पनि वर्षौं बितेको छ, तर समाधान भेटिएको छैन।
बिहीबार खोकनामै ‘काठमाडौँ–तराई मधेश द्रुतमार्ग’ विषयमा छलफल कार्यक्रम आयोजना गरिएको थियो। ललितपुर महानगरपालिका वडा नम्बर २१ को कार्यालय प्रांगणमा भएको त्यो कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले बुङमती र खोकना हुँदै फास्ट–ट्र्याक बनाउने पक्षमा कोही नभएको र महानगरपालिकाले अब त्यसकै लागि पहल गर्ने बताए। उनले महानगरपालिकाबाट चाँडै यस सम्बन्धमा निर्णय गरिनेसमेत उल्लेख गरे। महर्जनले त्यहाँ व्यक्त गरेका धारणा सम्पादनसहित प्रकाशन गरिएको छ। –सम्पादक)
ललितपुर महानगरपालिकाको कार्यालयमा केही समयअघि रक्षा मन्त्रालयले पठाएको एउटा पत्र आइपुग्यो। त्यसलाई मैले खोलेर हेरेँ। निर्माणाधीन काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को बारेमा लेखिएको रहेछ। पत्रको पेट बोलीले फास्ट ट्र्याक कताबाट लैजाने भन्नेबारे यस महानगरको वडा नं. २१ मा पर्ने खोकना र २२ मा पर्ने बुङमतीका बासिन्दा र जनप्रतिनिधिसँग छलफल गरेर जानकारी गराउन महानगरपालिकासँग अनुरोध गरिएको थियो।
मन्त्रालयको पत्रमा यी दुई वडाका बासिन्दा र यहाँका जनप्रतिनिधिको धारणा के रहेछ बुझ्ने मनसाय मात्र प्रकट भएको देखियो। त्यही म्यान्डेट पूरा गर्न महानगरपालिका वडावासीसँग प्रत्यक्ष संवाद गर्न आएको छ। तपाईंहरूसँग सोधेर जनमत जे आउँछ त्यो जानकारी गराउने हाम्रो जिम्मेवारी हो। यसबाहेक छलफलको अरू कुनै उद्देश्य छैन। यसमा दायाँबायाँ गर्नुपर्ने विषय पनि केही छैन। तपाईंहरू सबै जना यसमा एकदम प्रष्ट हुनुस्।

खोकना तथा बुङमतीवासीले छलफलका क्रममा राखेका सबै बुँदाहरूलाई मैले टिपेको छु। सबैको प्रतिनिधित्व हुने गरी स्थानीय १८ जनाले सान्दर्भिक, सारभूत र महत्त्वपूर्ण कुराहरू शृंखलाबद्ध तवरले राख्नुभयो। सुझाव राखेर बोल्ने १८ जनामा कसैले पनि फास्ट ट्र्याक हाम्रोमा आओस्, यसको असरलाई हामी सुखदुःख गरेर सहौँला, चाहिने व्यवस्थापन हामी आफैँ गरौँला भनेको सुनिएन।
हामी त जनताका प्रतिनिधि हौँ। मसँगै खोकना र बुङमतीका वडा अध्यक्षहरू यहाँका बासिन्दाहरूको भोटले जितेर नेतृत्वमा पुगेका छौँ। स्थानीयको मर्मअनुरूप हामीले बुझेको कुरा के हो भने सबैले एकमतमा भन्नुभएको छ, “वी डन्ट वान्ट फास्ट ट्याक इन दिस् एरिया” अर्थात् “हामीलाई यो क्षेत्रमा फास्ट ट्र्याक चाहिएको छैन।” छलफलको सारभूत निष्कर्ष यति नै हो जसलाई हामीले राम्ररी टिपोट गरेका छौँ।
आम जनधारणाको संश्लेषण, विश्लेषण गरेर स्थानीयले जे कुरा बोल्नुभयो त्यसको पेटबोली फरक नपर्ने गरीकन महानगरपालिकाको बैठकमा अजेन्डाको रूपमा प्रस्तुत गर्नेछौँ। बैठकबाट पास भइसकेपछि नेपाल सरकारले रक्षा मन्त्रालयमार्फत गरेको सोधनीको जवाफ दिन्छौँ। मन्त्रालयको पत्र र वडावासीको सामूहिक छलफलबाट निर्णय लिन सजिलो भएको छ। ललितपुर महानगरपालिकाको धारणा अब प्रष्ट हुन्छ। योभन्दा अघि हामीलाई अलि अप्ठ्यारो नै थियो।
सम्बन्धित वडावासीको अभिमत नबुझी महानगर आफैँले बोर्ड बैठकबाट यसबारे निर्णय गर्नु जायज हुँदैनथ्यो। सँगसँगै स्थानीय जनमत नेपाल सरकारसम्म पुग्ने आधिकारिक माध्यमको पनि अभाव भइरहेको थियो। त्यसकारण हामीलाई यही गरौँ भनेर यकिन गर्न गाह्रो भइरहेको विषय थियो यो। स्थानीय बासिन्दाले आफैँ घनिभूत रूपमा कुरा राखिसकेपछि महानगरपालिकाको धारणा यसभन्दा फरक हुने कुरै भएन। बुङमती–खोकना भएर फास्ट ट्र्याक अब जाँदैन, हामी जान दिँदैनौँ। बैठकले पारित गरेपछि सिंगो ललितपुर महानगरपालिकाको आधिकारिक धारणा यही हुनेछ।
हामीले केही समयअघि बसेको महानगरपालिकाको नगरसभा बैठकबाट बुङमती, खोकना र हरिसिद्धिलाई सांस्कृतिक नगरी घोषणा गरिसक्यौँ। त्यसो गर्नुको कारण पनि यही हो कि यी ठाउँको ऐतिहासिक पृष्ठभूमिलाई भविष्यमा पनि कहिल्यै नमासिने गरी हामीले अक्षुण्ण राखिरहनुपर्छ। ‘नट टु बी डिस्ट्रोइड’ भन्ने हिसाबकिताब राखेर यी धरोहरलाई सांस्कृतिक सम्पदाको रूपमा जोगाइराख्न यस्तो निर्णय गरेका हौँ।
स्थानीय सांस्कृतिक सम्पदा संरक्षण अभियानअन्तर्गत खोकनाको रुद्रायणी मन्दिरको हामीले पुनर्निर्माण गरिरहेका छौँ। बाहिरबाट दुई पैसा आएको छैन। यो काम ललितपुर महानगरपालिको आफ्नै लगानीमा भइरहेको हो। त्यो किन गरियो भन्दा यहाँको प्राचीन वैभवलाई निरन्तरता दिनकै लागि हो। यसमा कुनै आँच पुर्याउनको लागि होइन।
‘चोयकान पोयकान फास्ट ट्र्याक मय धका न्ववना दिल, अय जुया जिमित मेगु ताक न्ववनिउ जरुरी मरु’ अर्थात् हामीले बोलाएर पनि, तपाईंहरूले पोखाएर पनि फास्ट ट्र्याक मन पर्दैन भनेर तपाईंहरूले बोलिदिनुभयो। त्यसकारण हामीलाई अरू लामो कुरा गर्नु जरुरी नै छैन।’
तपाईंहरूले छलफलमा जे कुरा बोल्नुभयो, जे कुरा सुझावको रूपमा राख्नुभयो त्यसले हाम्रो (महानगरपालिकाको) व्यवहार, क्रियाकलाप, अडान र लगानीबारेको दृष्टिकोणलाई नै सघाएको छ। तसर्थ मैले यसभन्दा बढी भनिरहनुपर्ने आवश्यकता रहेन। यहाँहरूले आफ्नो मत र अमूल्य समय दिएर साझा जनमतलाई स्पष्ट र विस्तृत रूपमा राखिदिनु भएकोमा महानगरको तर्फबाट हार्दिक धन्यवाद दिन्छु।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
