ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बन्चरो प्रहार

पूर्वपश्चिम राजमार्गस्थित झापाको झरना खोलानजिक नियमित सवारी जाँचका क्रममा प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ। उनको टाउको र हातमा गम्भीर चोट लागेको छ।

झापा– सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई बिहीबार राति एक युवाले धारिलो हतियार प्रहार गरेका छन्।

पूर्वपश्चिम राजमार्गस्थित झापाको झरना खोलानजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी जवान खटिएका थिए। 

तीन जना युवा सवार मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बन्चरोले कटुवाललाई प्रहार गरेको झापा प्रहरीका एसपी दुर्गाराज रेग्मीले बताए।

उहाँका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ। उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिइएको छ।

आक्रमणमा संलग्न व्यक्ति मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा सवार रहेको प्रहरीको भनाइ छ।