चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहामा २० वर्षअघि हात्ती पाल्न थालिएको थियो। तर, यहाँ आउने पर्यटक घटेसँगै व्यावसायीले हात्ती बेच्न थालेका छन्।
भरतपुर– नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो, सौराहा। यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन्।
दुर्लभ एकसिंगे गैँडालगायतका वन्यजन्तु हेर्न पर्यटक लालायित हुन्छन्। निकुञ्जभित्रका वन्यजन्तु हेर्न २०४१ सालदेखि हात्ती सफारी गर्ने गरिएको छ। हात्ती चढ्नकै लागि पर्यटक आउने गर्थे। तर, पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी संकटमा पर्दै गएको छ।
पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको संख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए। कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उनले जानकारी दिए। हात्तीको चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए। “सौराहा आउने अधिकांश हात्तीको गतिविधि अवलोकन गर्न आउँथे। कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे,” उनले भने, “तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।” व्यवसायीले हात्ती थपेका छैनन्। स्वदेशी पर्यटक पनि घट्दै छन्। अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको संख्या पनि घटाएको उनले बताए।
पहिले सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो। तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन्। चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न शुरू गरेका हुन्। कोरोना महामारी शुरू हुनुअघि हात्तीलाई भ्याइन भ्याइ हुन्थ्यो। कोरोनापछि करिब चार वर्ष हात्ती बेकामे बने। पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउँछन्। पाल्न नसकेपछि दुईवटा हात्ती बेचेको उनले बताए। उनका अनुसार एउटा हात्ती पाल्न मासिक डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म खर्च हुन्छ। एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्छ। तर, आम्दानी भने एक लाख रुपैयाँ पनि नहुने उनको चापागाईंको भनाइ छ।
तीन वर्ष अघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे। तर पछिल्लो समयमा सौराहामा विगतजस्तो हात्तीको चाप छैन। २०७७ सालसम्म निजी हात्ती १०० भन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन्। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको संख्या कम भइरहेको बताए। उनका अनुसार चितवनमा सरकारी र निजी हात्ती गरी ११० वटा हात्ती छन्।
त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन्। युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेको उनले बताए। “राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ,” उनले भने।
चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको जनाउँदै निजी स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताए।
हात्ती संरक्षणमा चुनौती रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनको भनाइ छ। मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको जनाउँदै उनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया शुरू गरेको जानकारी दिए। नेपालमा १५० वटा हात्ती निजी स्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए। उनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए। हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए। तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ।
हात्ती लोपोन्मुख जनावर हो। सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ। यद्यपि व्यवसायीले ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्छन्। यहाँका व्यावसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन्। नेपालमा जंगली र घरपालुवा गरेर ७०० हाराहारी हात्ती रहेको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
