भ्रष्टाचार र संगठित अपराधविरुद्ध खबरदारी गर्दै नागरिक आन्दोलन

ललिता निवास, नक्कली शरणार्थी तथा सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले  बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी गर्न लागेको हो।

काठमाडौँ– भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै बृहत् नागरिक आन्दोलनले खबरदारी गर्ने भएको छ।

ललिता निवास, नक्कली शरणार्थी, सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी कार्यक्रम गर्न लागेको हो। यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको विज्ञप्तिमा दाबी गरिएको छ।  

यस्तै, सुन काण्डमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वासभामुख कृष्णबहादुर महरामाथि सरकारले अनुसन्धान नगरेको, नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस नेतृ आरजु देउवा, एमाले उपाध्यक्ष रामबहादुर थापालगायतलाई अनुसन्धानको दायरामा नल्याइएको विज्ञप्तिमा उल्लेख छ।  

विज्ञप्तिमा भनिएको छ, “फौजदारी अनुसन्धानको गहन जिम्मेवारी सम्हाल्दै आएका एआईजीहरूलाई सुनियोजित सरुवा गरियो। यस्ता दुष्प्रयासले राजनीतिक हस्तक्षेप उदांगिएको छ। अपराधमा संलग्नता रहेका प्रशस्त आधार भएका व्यक्तिमध्ये कसैलाई मुद्दा चलाउने र कसैलाई अनुसन्धानको दायरामासमेत नल्याउने कार्य आम नागरिकका लागि किमार्थ मान्य हुँदैन। त्यस्तो स्वेच्छाचारी अनुसन्धान र अभियोजनले लोकतन्त्र, कानूनी शासन, मानव अधिकार र सुशासनका अकाट्य मान्यतालाई लत्त्याएको छ।” 

सत्ता र शक्तिको आडमा पूर्वप्रधानमन्त्री, दलका नेता र तिनका निकटस्थलाई उन्मुक्ति दिने निहित उद्देश्य राखिनु खेदजनक भएको आन्दोलनको ठहर छ।