हेलम्बु मेलम्चीमा बाढी: मेलम्ची–हेलम्बु सडक अवरुद्ध

पानी परिरहेकाले सडक मर्मत गरेर यातायात सुचारु गर्न समस्या भइरहेको मेलम्ची नगरपालिकाले जनाएको छ।

सिन्धुपाल्चोक– भारी वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ। 

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए। पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको मेलम्ची नगरपालिकाले जनाएको छ।

निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ। कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्। 

“अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ,” उनले भनिन्, “वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ।”

पानी पर्न थाल्नासाथ स्थानीय त्रसित बन्दै नदीतर्फ हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए। 

यस्तै, बाढीका कारण सरस्वती माध्यमिक विद्यालयसमेत शुक्रबार बन्द गरिएको प्रधानाध्यापक कुमार घोरासैनीले बताए।