रहेनन् ‘डब्ल्यूडब्ल्यूई’ स्टार ब्रे

३६ वर्षीय ब्रेको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो। डब्लूडब्लूई कन्ट्याक चिफ अफिसर ट्रिपल एचले सामाजिक सञ्जालमार्फत् ब्रेको मृत्यु भएको जानकारी दिएका हुन्।

काठमाडौँ– वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) स्टार ब्रे व्याटको निधन भएको छ। 

३६ वर्षीय ब्रेको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो। डब्लूडब्लूई कन्ट्याक चिफ अफिसर ट्रिपल एचले सामाजिक सञ्जालमार्फत् ब्रेको मृत्यु भएको जानकारी दिएका हुन्।

ट्रिपल एचले ट्वीटर ‘एक्स’मा लेखेका छन्, “भर्खरै डब्ल्यूडब्ल्यूई हल अफ फेमर माइक रोटुन्डाको फोन आयो। उहाँले डब्ल्यूडब्ल्यूईका सदस्य विन्डहम रोटुन्डा, जसलाई ‘ब्रे’ भनेर चिनिन्छ उनको मृत्यु भएको दुखद् समाचार सुनाउनुभयो।”

ब्रे व्याटको वास्तविक नाम विन्डहम रोटुन्डा हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी विगत केही महिनादेखि डब्ल्यूडब्ल्यूईमा देखिएका थिएनन्। उनी सन् २००९ देखि डब्ल्यूडब्ल्यूईसँग जोडिएका थिए। यद्यपि, २०२१ र २०२२ मा डब्ल्यूडब्ल्यूईसँग थिएनन्। त्यसपछि गत सेप्टेम्बरमा पुन: डब्ल्यूडब्ल्यूईमा फर्किएका थिए।

उनी एक पटक डब्ल्यूडब्ल्यूई च्याम्पियन र ​​दुई पटक युनिभर्सल च्याम्पियन बनिसकेका छन्। अगस्ट २०१८ देखि अप्रिल २०१९ सम्म विश्राम लिएका उनी त्यसपछि नयाँ चरित्र ‘द फिएन्ड’ लिएर फर्केका थिए।

उनको पारिवारिक पृष्ठभूमी रेस्लिङ नै हो। उनका बुबा ‘हल अफ फेमर’ माइक रोटुन्डा हुन्।