जसपा र लोसपा भन्दा बढी सिट हाम्रो आउँछ : सीके राउत

जनमत पार्टीले आसन्न निर्वाचनमा शिक्षा, स्वास्थ्य र रोजगारी आफ्ना मुख्य मुद्दा भएको बताएको छ।

सप्तरी- जनमत पार्टीका अध्यक्ष सीके राउतले आसन्न निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भन्दा आफ्नो पार्टीले धेरै सिट जित्ने दाबी गरेका छन्। 

चुनावी प्रचारप्रसारका क्रममा सप्तरीमा रहेका अध्यक्ष राउतले जनताका मूलभूत आवश्यकताको सम्बोधन गर्ने अजेन्डा आफूहरूसँग रहेको भन्दै जसपा र लोसपा भन्दा बढी सिट जित्ने बताएका हुन्। 

त्यस्तै, शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य मुद्दा रहेको बताउँदै उनले सुशासन, भ्रष्टाचार उन्मुलन, ढिलासुस्तीको अन्त्य तथा कर्मचारीतन्त्रको अन्त्य गर्दै जनतन्त्र स्थापित गर्ने लक्ष्य आफूहरूको रहेको बताए। 

त्यस्तै, उनले स्वच्छ मतदान भएमा आफूहरूले चुनाव जित्ने निश्चित रहेको दाबी गरे। उनले भने, "हाम्रो जित निश्चित छ। खाली स्वच्छ निर्वाचन हुनुपर्यो, मत खरिदबिक्री हुनुभएन।"

राउत सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।