सामाजिक सद्भाव बिगार्न खोज्नेसँग सतर्क रहन मन्त्री खड्काको आग्रह

रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्त्वप्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक दलसमेत सचेत हुनुपर्ने बेला आएको बताएका छन्।

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केही समययता विभिन्न नाम र बहानामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खलबल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहन आग्रह गरेका छन्।

चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गर्दै उनले देशमा कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्त्वप्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक दलसमेत सचेत हुनुपर्ने बेला आएको बताएका हुन्।

सदयौँदेखि देशमा विभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रूपमा धेरै जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिँदै आएको बताउँदै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए।

“यो वा त्यो बहानामा कसैले जातीय, साम्प्रदायिक द्वन्द्वको सिर्जनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकांक्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ,” उनले भने।

विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रूपमा विकासका योजना अगाडि बढाउनु पर्ने उनको भनाइ थियो। उनले जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिए।

उनले छालिंग जाने सडक बिस्तारदेखि स्मार्ट सिटीको निर्णय नहुँदा जनताको परेको समस्याबारे सम्बन्धित निकायसँग छलफल गरी निकास निकाल्न पहल गर्ने बताए।