सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित

शनिबारदेखि सिरहाको अम्बासमा बस्ने भनिएको एमाले सचिवालय बैठक प्रतिकूल मौसमका कारण स्थगित भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। शनिबारदेखि सिरहाको अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रतिकूल मौसमका कारण बैठक स्थगित भएको प्रमुख गौतमले उल्लेख गरेका छन्।

एमालेले तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा सचिवालय बैठक राखेको थियो। बैठकको बेला नै कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम एमालेले राखेको थियो। २०४६ भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो। सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए।

निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण बैठकस्थल पुग्न समस्या भएकाले बैठक स्थगित भएको गौतमले उल्लेख गरेका छन्। “तत्कालीन नेकपा मालेको चौथो राष्ट्रिय अधिवेशन आयोजना गरिएको ऐतिहासिक स्थल सर्रे अम्बासमा हुन लागेको बैठक त्यस क्षेत्रका पार्टी नेता कार्यकर्ता समर्थक शुभचिन्तकमा ठूलो उत्साह सञ्चार भएको थियो” विज्ञप्तिमा भनिएको छ, “ अविरल वर्षा, बाढीका कारण बैठक स्थगन भएको ब्यहोरा सबैमा सूचित गरिन्छ।” अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ।