नेपाली क्रिकेटलाई धनी बनाउने मेरो लक्ष्य हो : पारस खड्का

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले सामाजिक, आर्थिक सबै रूपमा नेपाली क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

काठमाडौँ– पूर्वकप्तान पारस खड्काले सबै पक्षलाई एकै ठाउँमा ल्याएर नेपाली  क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

काठमाडौँमा शुक्रबार बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले सामाजिक, आर्थिक सबै रूपमा नेपाली क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका हुन्।

“रिसोज फन्डिङमा मैले ठूलो भूमिका खेल्न सक्छुजस्तो लाग्छ। भोलि गएर जिल्ला प्रदेशका जति पनि अध्यक्ष हुनुहुन्छ, प्रतिनिधि हुनुहुन्छ उहाँहरूलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटको प्रोगेस गर्ने हो,” उनले भने।

आफू अध्यक्ष, कोषध्याक्ष्य या प्रतिनिधि भएर नेपाली क्रिकेटको विकास नहुने उनले सुनाए। यसका लागि सबै जिम्मेवार पक्षले दायित्व लिनुपर्नेसमेत बताए। “मेरो लक्ष्य भनेको जसरी आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको वाहवाही छ, त्यसरी नै ३/४ वर्षमा क्रिकेट संघको वाहवाही होस्,” उनले भने। 

बागमती प्रदेशको निर्वाचन यही भदौ १५ गते हुँदैछ। यसैबीच बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुरले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने प्रतिबद्धता जनाएका छन्।

पारसलाई काठमाडौँबाट दीवाकर घले, ललितपुरबाट शेखर श्रेष्ठ, भक्तपुरबाट मनिषराज पाण्डे र मकवानपुरबाट करन महत्रा क्षेत्रीले समर्थन गर्नेछन्। उनीहरू जिल्ला अध्यक्ष हुन्। पारस पनि काठमाडौँ जिल्ला क्रिकेट संघका सदस्य हुन्। उनलाई चितवनबाट सुदीप पिया र नुवाकोटबाट दुर्गाराज पाठकले भने समर्थन गर्ने छैनन्।

प्रतिबद्धता पत्रमा पारसले संघको उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति गरेका छन्। बागमती प्रदेश प्रदेशमा ६ जिल्लाका २४ र वर्तमान कार्यसमितिका १३ गरी ३७ मत रहेको छ। चितवन र नुवाकोटबाट पोजेटिभ म्यासेज नआएपछि ४ जिल्ला मिलेर अगाडी बढ्ने सहमति भएको पारसले बताए।

“हामी सकेसम्म सबै जिल्ला मिलेर जाऔँ भन्ने थियो। तर, दुई जिल्लाबाट पोजेटिभ मेसेज नआएपछि ४ जिल्लाका प्रतिनिधिहरू एक ठाउँमा आएर सहमति गरेका हौँ,” उनले भने।

१५ गतेको निर्वाचनमा आफूले नै जित्ने कुनै ग्यारेन्टी नभएको उनले बताए। यद्यपि, ३७ मतमध्ये २३/२४ मत आफ्नो पक्षमा रहेको उनको भनाइ छ।