कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, गण्डकी र बागमतीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। 

साथै, भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। 

जसले गर्दा हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, गण्डकी र बागमतीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र मधेशमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, मधेश र बागमतीमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।