रोनाल्डोको ह्याट्रिकमा अल–नासरको सानदार जित

जितसँगै अल–नासर तीन खेलबाट तीन अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ। 

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल–नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ।

शुक्रबार राति अल–नासरले अल–फतेलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो। 

साउदीस्थित प्रिन्स अब्दुल्लाह विन जलावी स्टेडियममा खेलको २७औँ मिनेटमा साडियो मानेको गोलबाट अल–नासरले अग्रता लियो। 

३८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर पारे। ५५औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। ८१औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो बनाए। 

अतिरिक्त समयको छैटौँ मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै अल–नासरलाई सानदार जित दिलाए। साउदी प्रो लिगमा शुरूआती दुईमा पराजय बेहोरेको अल–नासरको यो पहिलो जित हो। 

जितसँगै अल–नासर तीन खेलबाट ३ अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ। पराजित अल–फते ४ अंकसहित आठौँ स्थानमा छ।