बागलुङमा पहिरोले २ घर भत्किए, दर्जनभन्दा बढी उच्च जोखिममा

पहिरोले घर भत्किँदा बागलुङ नगरपालिका–६ मैदानका जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएका छन्। 

फाइल तस्वीर

ढोरपाटन– भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्।

बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्। घर भत्किँदा मैदानका दुई परिवार विस्थापित भएका छन्। 

पहिरोले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताए। जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उनको भनाइ छ।

नारायणको १० लाख र जमुनाको छ लाख रुपैयाँ बराबरको क्षति भएको छ। नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताए। 

“अन्य घर पनि भत्किन थालेका छन्, उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ,” अध्यक्ष केसीले भने, “बर्खा अझै बाँकी छ, यसरी नै वर्षा भई रह्यो भने अरू घर पनि जोखिममा पर्ने सम्भावना छ।”

विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक सहयोग पाउन सकेका छैनन्। पहिरोका कारण रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीयले बताएका छन्। पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको वडाध्यक्ष केसीले बताए।

बागलुङ नगरपालिका–४ कुँडुले, वडा नं ५ मालिका हुँदै पञ्कोटबाट वडा नं ७ तितौरे जाने शाखा सडक खण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका छन्।