गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ: गृहमन्त्री

संघले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको छ। 

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। 

गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी नेतृत्वको टोलीसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। 

उपप्रधानमन्त्री श्रेष्ठले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखापरे सहजीकरण गर्न सरकार तयार रहेको उल्लेख गरे। संघका कार्यकारी अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तिका लागि मार्ग प्रशस्त गरिदिन हुन अनुरोध गरे। 

नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झन्झटिलो हुने भएकाले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए। अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता दिइने व्यवस्था मिलाउन र नागरिकताको ढाँचा अन्य नेपालीले पाउने नागरिकताजस्तै बनाई प्रमाणपत्रको किसिममा ‘गैरआवासीय’ लेख्दा उपयुक्त हुने सुझाव दिए।

संघले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि  निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको थियो। 

सरकारले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्थाअनुरूप ऐन जारी गरे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणकै चरणमा छ।