नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने ‘ब्लाक सफ्टसेल’ कछुवा ७० देखि ८० किलोसम्मको हुन्छ। बेतना सिमसारमा यो कछुवा दुई दर्जन हाराहारी रहेको छ।
बेलबारी– मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ। वैज्ञानिकको टोलीले अति संकटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ कछुवा दुई दर्जनभन्दा बढीको संख्यामा रहेको पत्ता लगाएका हुन्।
“बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,” प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले भने।
सन् २०२२ मा आरको नेपालको सहयोगमा अस्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्टसेल (कालो नरम खपटे) कछुवा फेला पारेको हो। जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ। अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आईयूसीएन’मा अति संकटापन्न प्रजातिका रूपमा सूचीकृत छ। नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको संख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले बताए।
भारत र बंगलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ। ठूला प्रजातिको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धानकर्ता बताउँछन्। सरकारीस्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उहाँहरूको माग छ। हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन्। तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन्।
तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेको छ। सिमसारमा कृत्रिम संरचना निर्माण गर्दा वासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा छ। यो प्रजातिको कछुवा र बाघ आईयूसीएनको एउटै सूचीमा छन्। “बाघको संरक्षणमा जति महत्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्व छ। ठूलो टाउको पिठ्युँ (खपटा)मा बुट्टाजस्तो देखिने ठ्याक्कै, मयूरको प्वाँखको बीच भागको आँखाजस्तो देखिने बुट्टा बाहिरी अवारण हेर्दै थाहा हुन्छ मयूर प्वाँखे कछुवा,” बेलबारी–९ का काचिलाल धिमालले भने।
फाट्टफुट्ट मात्र देखिएको यो मयूरको प्वाँखे कछुवा अन्य कछुवाकै रूपमा लिइएको र यसको महत्वबारे आफूलाई थाहा नभएको धिमालले बताए। “बेतना सिमसारमा घुम्न आउने पर्यटकले भुजा, सोयाबिनलगायत चारोका रूपमा सिमसारमा हालेपछि त्यही खान माछा सँगसँगै कछुवा पनि आउँछन् तर चारो हाल्ने बित्तिकै खान आइहाल्छ भन्ने हुँदैन तर लामो समय पर्खिएर हेर्दा भने पक्कै देखिन्छ,” बेतना सिमसारका कर्मचारी प्रमुख धनबहादुर राईले भने।
नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाइने मयूर प्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिभन्दा केही ठूलो हुन्छ। रातको समयमा सक्रिय हुने यो प्रजातिले शंखेकिरा, माछा, गँड्यौलालगायत स–साना प्रजाति खान्छ। एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ। अगस्ट र नोभेम्बर महिनामा फुल पार्ने र जुनदेखि जुलाइमा कोरल्छ। दलदलमा बस्ने यो कछुवाले माटोमुनि नै बस्न रुचाउँछ।
भालेभन्दा पोथी केही ठूलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी शिकार हुने प्रजातिभित्र पर्छ। यो प्रजातिको बारेमा अध्ययन अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ। २०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
