६ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल, भन्छन्– पुर्ख्यौली पेसा छाड्न मन लाग्दैन

प्रविधिको विकासले खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा पनि संकटमा परेको छ।  

मनहरी– खरको छानो र काठका बाकलले घेरिएको छ, पदमलाल विश्वकर्माको आरन। आरनमा छरपस्ट फलामका टुक्रा छन्। बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री पनि छन्।

बिहानको खाजा नास्तापछिको उनको फलामसँग जुध्ने दिनचर्या शुरू हुन्छ। मकवानपुरको बकैया गाउँपालिका–५ निवासी पदमलाल ७७ वर्ष पुगे। १३ वर्ष हुँदादेखि पुर्ख्यौली पेसा अँगाल्दै आएका उनको छ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितेको छ।

गाउँघरमा खेतीपाती गर्नेहरू घटेसँगै आरन पेसा संकटमा पर्न थालेको पदमलालले बताए। प्रविधिको विकासले खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा संकटमा पुग्न थालेको पदमलालको भनाइ छ। 

“आरनबाट दैनिकीसमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउँदैनन्। पढाइ तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ,” उनले भने, “अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ। पुर्ख्यौली पेसा भएकाले पनि छाड्न मन लाग्दैन।” आफूले अरू काम नजानेको र बाबुबाजेले पनि यही काम गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उनको भनाइ थियो।

पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत सीप प्रयोग गरेर बनाउँछन्। कोइला नपाउने, पाए पनि महँगोमा पाइने हुँदा काममा अप्ठ्यारो भएको उनको भनाइ छ। पहिले–पहिले काम गरेबापत मकै, चामल भाग लिने चलन थियो। अहिले नगद नै लिने गरेको पदमलालले सुनाए। 

“आँखाले देखुन्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ। गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले। तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुशी लाग्छ,” उनले भने, “बजारमा फलामका काम गर्ने ग्रील उद्योग खुलेका छन्। त्यसैले पनि आरन आउन छाडेका हुन्।” प्रविधिको विकाससँगै पेसालाई बदल्न नसक्दा गाउँका कतिपयले आरन पेसा बन्द गरेर अन्य पेसा गरिरहेका छन्।