नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको थियो।

फाइल तस्वीर

काठमाडौँ– चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्‍यो। मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो। १०२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले ५.३ ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो। 

त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो। इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन्। त्यसअघि काजल श्रेष्ठ भने रन नबनाईकन आउट भइन्। वर्षा अत्यधिक भएपछि खेल पुनः शुरू हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो।

यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन्। बलिङतर्फ नेपालका लागि खुशी डंगोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिइन्। फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डंगोल भइन्।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो। अन्तिम खेलमा नेपाल मलेसियासित ६ विकेटले पराजित भएको थियो। यसैगरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो। उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो।

महिला टी–२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगस्ट ३१ देखि मलेसियामै हुने आइसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरूप नेपालले उक्त सिरिज खेलेको हो।