सत्तागठबन्धनले बारम्बार संविधान मिचेको छ : झलनाथ खनाल

एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्ने भन्ने सत्तागठबन्धनले बारम्बार संविधान मिचिरहेको टिप्पणी गरेका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तागठबन्धनले संविधान उल्लंघन गरिरहेको र त्यसको सिकार आफ्नो पार्टी बन्न नहुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनु हुँदैन। हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ। त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ।” उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरहेको टिप्पणी गरे।

उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधानविरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो? भन्दै प्रश्नसमेत गरे। “हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा त दुई पटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ?” उनले भने।

खनालले एकीकृत समाजवादी देशको सबैभन्दा ठूलो पार्टी बन्न सक्ने सम्भावना रहेको जिकिर गरे।