ओलीले नियतवश सर्वदलीय बैठकमा सहभागी हुन आफ्नो पार्टीलाई रोकेको माधव नेपालको आरोप

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुनकाण्डबारेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सहभागी हुन नदिएको आरोप लगाएका छन्। 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियतवश आफ्नो पार्टीलाई सर्वदलीय बैठकमा सहभागी हुन रोक लगाएको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुनकाण्डको छानबिनको लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सहभागी हुन नदिएको आरोप लगाएका हुन्। 

“ओलीले यो पार्टीको मतलब नै नराख्ने। हुँदाहुँदै हिजो अस्ति त संसद्मा अरू सबै पार्टी हुन्छ। तर एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्। र त्यो सुनकाण्डको बारेमा भएको जुन छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी। राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्। अब हामी पनि सोचिरहेका छौँ कि हामीले पनि केही गर्नुपर्छ। धेरै भलादमी पाराले हुँदो रहेनछ” 

उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा प्रस्ताव गरे तापनि पार्टीलाई ल्याएर बाटामै छोड्यो भन्ने आलोचना आउने डरले अस्वीकार गरेको जिकिर गरे। “प्रचण्डजीले सबै बैठकमा सबैको अगाडि मलाई प्रस्ताव गरेकै हो राष्ट्रपतिको लागि। म साँच्चिकै किन इच्छुक थिइनँ भने विद्रोह गरेर पार्टी बनाइएको छ, म राष्ट्रपतिमा गए भने हामीलाई ल्याएर बाटामै छोड्दिनुभयो भनेर मलाई नै आलोचना आउँथ्यो,” उनले भने। अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेँ भनेर झुटो बोलेको बताए।