विपद् न्यूनीकरण गर्न नेपालले बदलिँदो परिस्थिति अनुकूल कदम चाल्न जरुरी: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका संकट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरण गर्न नेपालले आवश्यक कदम चाल्न जरुरी भइसकेको बताएका हुन्। 

सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ नभएको अवस्था आउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसले निम्त्याउने विपद् व्यवस्थापनका लागि नेपाली कांग्रेसले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

“यो संकटलाई न्यूनीकरण गर्न बदलिँदो परिस्थिति अनुकूल कदम चाल्नु नेपालको सन्दर्भमा अत्यन्त जरुरी छ,” उनले भने, “नेपाली कांग्रेसले यस विषयलाई सदैव प्राथमिकतामा राख्दै आएको छ। यस विषयलाई नीतिगत कुरासँग जोडेर हामीले अगाडि बढाउनेछौँ।”