मधेश र लुम्बिनीमा हावाहुरी, गण्डकीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। 

बंगलादेशको उत्तरी भूभागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेश र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै, मधेश र लुम्बिनीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ। 

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकीको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। 

यसैगरी, कोशी, मधेश र लुम्बिनीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।