३२ करोड डलरको पानी जहाज समुद्रमा अलपत्र, मालिक खोज्दै एफबीआई

अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई अमेरिकी जाँच ब्यूरोले हात पारेको अहिलेसम्मकै बहुमूल्य वस्तु भनेका छन्।

तस्वीर : सीएफएफ

अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले विश्वकै महँगोमध्येको एक पानी जहाज (सुपरयाच) नियन्त्रणमा लिएको छ। फिजीको तटीय क्षेत्रमा तैरिरहेको पानी जहाजलाई एफबीआईले नियन्त्रणमा लिएको हो।

अमाडिया नामक सो पानी जहाजको लम्बाई १०६ मिटर छ। अधिकांश समय प्रशान्तीय सामुद्रिक क्षेत्रमा तैरिरहेको देखिने याच हाल अमेरिकाको नियन्त्रणमा छ। अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई अमेरिकी जाँच ब्यूरोले हात पारेको अहिलेसम्मकै बहुमूल्य वस्तु भनेका छन्।

३२ करोड ५० लाख अमेरिकी डलरको सो याचको नेपाली मूल्य ४२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी पर्छ। अत्याधुनिक र सुविधासम्पन्न सो याचमा विलासी जीवनका हरेक चिज रहेको भनिएको छ। टाढाबाट हेर्दा बरफको पहाजजस्तो देखिने पानी जहाज भव्य र सुविधासम्पन्न छ। एक फुटबल मैदानजत्रो लम्बाइको यो विलासी पानी जहाजमा १६ जना पाहुनाका लागि लक्जरी क्याबिन छन्।

चालक दलका ३६ जना सदस्यलाई समेत कोठाको व्यवस्था छ। यस पानी जहाजभित्रै हेलिप्याड र इन्फिनिटी पुल, जीम, ब्यूटी सलुन, सिनेमा घर र वाइन सीलरजस्ता सुविधासमेत छन्। यो पानीजहाजको सञ्चालनका लागि मात्रै वार्षिक २ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी लाग्ने जनाइएको छ।

अमेरिकी अनुसन्धानकर्ताले यस विलासी पानी जहाजका वास्तविक मालिक रुसी अर्बपति एवं नेता सुलेमन केरिमोभ रहेको दाबी गरेका छन्। तर, रुसले अस्वीकार गरेको छ। ५६ वर्षीय केरिमोभ रुसका सर्वाधिक धनी व्यक्तिको सूचीमा पर्छन्। फोर्ब्स म्यागेजिनका अनुसार केरिमोभको कूल सम्पत्ति १२ अर्ब ४० करोड अमेरिकी डलर छ।

आफ्ना सम्पत्तिमाथि प्रतिबन्ध लाग्ने डरले धेरैजसो धनाढ्यले यस्ता विलासी पानी जहाजको प्रयोग गरि विभिन्न मुलुकसम्म जाने गरेको बताइएको छ। एफबीआईले यो पानी जहाज केरिमोभको भएको दाबी गरेको थियो। तर, उनले अस्वीकार गरेपछि उक्त पानी जहाजको वास्तविक मालिक पत्ता लगाउन एफबीआईले अनुसन्धान गरिरहेको बीबीसीले उल्लेख गरेको छ। केरिमोभलाई अमेरिकाले सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो।