स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक ८०० देखि एक हजार १०० लिटरसम्म दूध संकलन हुन्छ। त्यसबाट २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ। 

गल्याङ– स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुन थालेको छ।

काठमाडौँ हुँदै छुर्पी अमेरिका निर्यात भइरहेको सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए। सहकारीले कृषकबाट दूध संकलन गरेर छुर्पीसहित विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएको उनको भनाइ छ। 

हामीले यहाँ संकलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ,” उनले भने, “दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि  काठमाडौँ निर्यात गर्ने गरेका छौँ।” सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको उनको भनाइ छ। यहाँको दुग्ध संकलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन्।

“साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक ८०० देखि एक हजार १०० लिटरसम्म दूध संकलन हुन्छ,” उनले भने, “दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ।” अध्यक्ष अर्यालले छुर्पी प्रतिकिलो एक हजारदेखि एक हजार १०० रुपैयाँसम्म पर्ने बताए। दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको उनको भनाइ छ।

सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताए। “कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ,” उनले भने, “बाख्रापालक कृषकलाई बोयर बोका, १५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा २५ रुपैयाँ अनुदान दिँदै आएका छौँ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भैँसी अनुदान कार्यक्रम’अन्तर्गत ५० प्रतिशत र २८ जनालाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएको थियो। 

२०७५ सालमा स्थापन भएको सहकारीमा दुई हजार ८५० शेयर सदस्य छन्। सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बिमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ।

“हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ,” उनले भने, “यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ।” 

सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेका युवासमेत फर्किएको उनको भनाइ छ।