हेलम्बु गाउँपालिकाद्वारा पुनः निर्माणमा सहयोग गर्न आग्रह

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको भवन बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन्।

सिन्धुपाल्चोक– मेलम्ची नदीमा आएको बाढीले निरन्तर क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले प्रदेश सरकारसँग सहयोग माग गरेको छ। 

साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे। मेलम्ची नदीले निरन्तर बस्तीतर्फ कटान गरिरहेको उनको भनाइ छ। 

बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, नदीका तटीय क्षेत्र संरक्षण, भौतिक संरचनाको पुनः निर्माणलगायत काम पालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने अध्यक्ष शेर्पाले बताए।  

“सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि एक करोड पठाए पनि हालसम्म अति जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पालमा सरकारले सहयोग पठाएको छैन,” उनले भने, “हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै तीन–चार करोड आवश्यक पर्छ।”

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको भवन बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन्।