९ वर्षमा थपियो ३ हजार ११८ किलोमिटर विद्युत् प्रसारण लाइन

लोडसेडिङ अन्त्यपछि नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार र सुधारलाई प्राथमिकता दिएको छ। 

काठमाडौँ– नेपालमा पछिल्लो नौ वर्षमा तीन हजार ११८ किलोमिटर विद्युत् प्रसारण लाइन विस्तार भएको छ। 

लोडसेडिङ अन्त्यपछि नेपाल विद्युत् प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुधारलाई प्राथमिकता दिएको हो। 

सो अवधिमा ग्रिड सब स्टेसनहरूको क्षमता आठ हजार ८६७ एमभीए पुगेको छ। आर्थिक वर्ष २०७१/७२ मा यो क्षमता दुई हजार १३२ एमभीए मात्र थियो। 

यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ६६ र १३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइन सञ्चालनमा छन्।

आर्थिक वर्ष २०७१/७२ मा दुई हजार ६२४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकोमा तीन हजार ११८ सर्किट किलोमिटर थपिएर पाँच हजार ७४२ सर्किट किलोमिटर पुगेको छ।

अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमशः ५१४ र तीन हजार ९७९ सर्किट किलोमिटर छ। २२० र ४०० केभी प्रसारण लाइनको लम्बाइ क्रमशः एक हजार १०१ र १४८ सर्किट किलोमिटर छ। आर्थिक वर्ष २०७५/७६मा सबैभन्दा बढी (६०६ सर्किट किलोमिटर) र २०७४/७५मा सबैभन्दा कम १४१ सर्किट किलोमिटर लाइन थपिएको छ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समय–समय विद्युत् अवरुद्ध भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न लागिपरेको बताए। 

स्थानीयको अवरोध, जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानमा समस्या रहेको र ती समस्यालाई समाधान गर्दै आयोजनाको काम भइरहेको उनको भनाइ छ। 

“वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका कार्यक्रमलाई शीघ्र कार्यान्वयनमा लैजानु पर्छ”, उनले भने, “सन् २०५० सम्मको विद्युत् माग धान्ने गरी काठमाडौँलगायत देशका प्रमुख शहरलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सबस्टेसन संरचनाको गुरुयोजना तयार पारिएको छ।” 

साथै, तराई/मधेशका दक्षिण क्षेत्रमा औद्योगिक तथा शहरी क्षेत्र विस्तारलाई ध्यान दिई हुलाकी राजमार्ग आसपासबाट ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माण प्रारम्भ गरिएको उनले उल्लेख गरे।

प्राधिकरणकाअनुसार, हाल विभिन्न क्षमताका दुई हजार ८५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन्। छ हजार ७५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ। 

विभिन्न क्षमताका १० हजार ४६९ एमभीए क्षमताका सबस्टेसन निर्माणाधीन छन्। १५ हजार ५६४ एमभीए क्षमताका सबस्टेसन निर्माण प्रस्ताव गरिएको छ।