अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा तीन अमेरिकी सेनाको मृत्यु, २० घाइते

अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसिया गरी पाँच देशका दुई हजार ५०० सैनिक सम्मिलित ‘प्रिड्याक्टर रन’ तालिमका क्रममा दुर्घटना भएकाे हाे।

अस्ट्रेलियामा सैन्य अभ्यासका क्रममा हेलिकप्टर दुर्घटना हुँदा तीन अमेरिकी सेनाको मृत्यु भएको छ। यस्तै, २० जना घाइते भएका छन्।

अस्ट्रेलियाको उत्तरी प्रान्तको राजधानी डार्विनको मेलभिल टापुमा एमभी–२२बी अस्प्रे मोडेलको हेलिकप्टर आइतबार दुर्घटनामा परहेको हो। घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ। उनीहरुलाई स्वास्थ्य उपचारको लागि डार्विन ल्याइएको छ।

अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसिया गरी पाँच देशका दुई हजार ५०० सैनिक सम्मिलित ‘प्रिड्याटर रन’ तालिमका क्रममा दुर्घटना भएकाे हाे। दुर्घटना भएको हेलिकप्टरमा अमेरिकी सेना मात्र रहेको बताइएको छ। 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी अल्बानिजले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।