माओवादी केन्द्रले गठन गर्‍यो आईसीटी फोरम

माओवादी कन्द्रको तीनमहिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोगमा भर पर्ने बताउँदै सोही अनुरूप काम गर्न नवगठित आईसीटी फोरमलाई अध्यक्ष दाहालले निर्देशन दिए।

काठमाडौँ– माओवादी केन्द्रले आईसीटी फोरम गठन गरेको छ। आइतबार पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आईसीटी फोरमको विधान खोलेर उद्घाटन गर्दै पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरिएको बताए।

उनले यो संगठनमार्फत त्याग तथा समर्पणभन्दा पनि हल्लाकै भरमा संगठन बनाउने अहिलेको ट्रेनलाई क्रस गर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गराइने बताए। अहिलेको युग सूचना प्रविधिको युगको रूपमा स्थापित भएकोले यसको महत्त्व राम्रोसँग बुझ्न जरुरी रहेको उनको भनाइ थियो।

“विज्ञान र प्रविधिको महत्त्व बुझेर त्यसलाई महत्त्व दिए राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ। त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ। यसको संगठन ग्रासरुटसम्म यसको संगठन विस्तार हुन्छ, समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति, विचार र कामलाई प्रचार गर्नेछ,” उनले भने।

पार्टीको तीनमहिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोगमा भर पर्ने बताउँदै सोही अनुरूप काम गर्न नवगठित आईसीटी फोरमलाई प्रधानमन्त्री दाहालले निर्देशनसमेत दिए। आईसीटीको महत्त्वलाई बुझेर पार्टीले जुन किसिमको महत्त्व दिएको छ त्यहीअनुरूप काम गर्न आग्रह गरे।