आन्तरिक विषयलाई लिएर कसैलाई ताली बजाउने अवसर नदिऊँ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक समस्या निरूपण नगरी हेरेर बस्नेहरूलाई ताली बजाउने मौका दिन नहुने बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको समस्यालाई लिएर हेरेर बस्नेहरूलाई ताली बजाउने मौका दिन नहुने बताएका छन्। आइतबार विराटनगरमा कोशी प्रदेश संगठन कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एमालेसँग लड्न आउनेको सिङ निकाल्ने तर आपसमा लडेर बस्न नहुने बताए। आन्तरिक समस्याको सममाधान आफैँले खोज्नुपर्ने र मिलेर विकास गर्नुपर्ने उनको भनाइ थियो।

“हामीले आफ्नो सिङ निकाल्नु पर्छ। हाम्रो सिङ भाँचिने, हामी लड्ने, दाजुभाइ दाजुभाइ लड्ने अनि दर्शक भएर बस्नेहरूचाहिँ ताली बजाउने त्यो स्थिति आउन दिनु हुँदैन। हामीले मिलेर विकास गर्नुपर्छ,” उनले भने।

उनले सत्तागठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको आरोप लगाए। सबै जातजाति मधेशी, दलित, थारू, लिम्बुवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाइ छ।