ब्रिटिस गोरखालाई नागरिकताबाट वञ्चित नगराउन माग

अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोरखालीहरूलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोरखालीको चलअचल सम्पत्ति पूर्ण रूपमा पलायन हुने बताए।

काठमाडौँ– ब्रिटिस गोरखा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत–नेपालले ब्रिटिस गोरखालीलाई नेपाली नागरिकताबाट वञ्चित नगराउन सरकारसँग माग गरेको छ। आइतबार अभियानले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोरखाहरूले नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका हुन्।

अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोरखालीहरूलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोरखालीको चलअचल सम्पत्ति पूर्ण रूपमा पलायन हुने बताए। गोरखाली अपराधी हो? भन्दै प्रश्न गरेका संयोजक तामाङले गोरखालीको नागरिकता खोस्नु अन्यायपूर्ण हुने बताए। 

उनले ब्रिटिस गोरखालीका सन्तानको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने भन्दै गोरखाहरूले बेलायत बस्न पाऊँ भनेर कहिल्यै माग नराखेको स्मरण गराए।

उनीहरूले जीविकोपार्जनका लागि पनि आधारभूत सुविधाहरूको उपभोग गर्नुपर्ने बाध्यताका कारण बेलायती अंगीकृत नागरिकता लिनुपरेको बताए। 

उनले वंशजको नेपाली नागरिकता लिन सक्ने व्यवस्था संविधान संशोधनमार्फत सुनिश्चित गरी दिन आग्रह गरे। वंशजको नेपाली नागरिकता कायम नरहेमा भूपू गोरखाहरूले पेन्सनबापत प्रतिवर्ष प्राप्त गरिरहेको २० अर्ब रकमसमेत बेलायत पलायन हुने उनको भनाइ छ। 

त्याग र बलिदानको कदर स्वरूप सरकारकै सहमतिमा बेलायत बसोबासका लागि आवासीय अधिकार दिएको कारण गोरखाहरूको बेलायतमा आधिकारिक बसोबास शुरू भएको उनीहरूको भनाइ छ। उनले दुई सय वर्षदेखि बेलायतमा गोरखाली कार्यरत रहेको पनि बताए।