दाहाल सरकारको ६ महिना : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता उपलब्धिमूलक भएको दाबी

दाहाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहको सरकारमा कडाइसाथ कार्यान्वयन गरेकोदेखि भ्रष्टाचारसम्बन्धी विभिन्न २८ वटा मुद्दा दर्ता गराएकोसम्मलाई ६ महिनाको उपलब्धिका रूपमा लिएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ। गठबन्धन सरकारको नेतृत्व गरेका दाहालले आफ्नो ६ महिना (२०७९ पुस ११ गतेदेखि २०८० असार १० गतेसम्म)को कार्यकालमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता उपलब्धिमूलक भएको दाबी  गरेका छन्।

दाहाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहको सरकारमा कडाइसाथ कार्यान्वयन गरेकोदेखि भ्रष्टाचारसम्बन्धी विभिन्न २८ वटा मुद्दा दर्ता गराएकोसम्मलाई ६ महिनाको उपलब्धिका रूपमा लिएको छ। यसबीचमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि विविध ६ वटा काम गरेको भन्दै तिनलाई ६ महिनाको कार्य विवरणमा उल्लेख गरिएको छ।

दाहालले सरकारको कार्यभार सम्हालेको ६ महिनामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि गरिएका काममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहका सरकारमा कडाइसाथ लागू गरिएको, नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याइएको, मिटरब्याजी पीडितको समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गरिएको उपलब्धिमा उल्लेख गरिएको छ।

साथै जाँचबुझ आयोग गठन गरी २३ हजार ११८ उजुरीमाथि कारबाही गरिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११ हजार ३ सय ७३ उजुरी दर्ता भएकोमा ९ हजार ३७४ मुद्दा फर्स्योट गरेको पनि उपलब्धिमा उल्लेख छ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका टोलीले रंगेहात २९ जनालाई पक्राउ गरेकोदेखि भ्रष्टाचारसम्बन्धी विभिन्न कसुरमा ७८ वटा मुद्दा दायर गराइ १ अर्ब ११ करोड ५५ लाख बिगोदाबी गरिएकोलाई पनि ६ महिनाको उपलब्धिको रूपमा राखिएको छ।