एमालेबाट कञ्चनपुर-३ की प्रतिनिधिसभा उम्मेदवार निरूदेवी पालले आफ्नो जित सुनिश्चित भएको बताएकी छन्। उनले यस क्षेत्रका लागि विभिन्न महत्वाकांक्षी योजनासमेत अघि सारेकी छन्।
आसन्न मंसिर ४ मा हुने निर्वाचनले कञ्चनपुर ३ को चुनावी सरगर्मी पनि बढेको छ। लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार र राप्रपासँगको सहकार्यमा नेकपा एमालेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्। कञ्चनपुर ३ मा सत्ता गठबन्धनका उम्मेदवारसँग नेकपा एमालेका उम्मेदवार निरूदेवी पाल चुनावी प्रतिस्पर्धा गर्दैछिन्। तिनै उम्मेदवार पालसँग कञ्चनपुर ३ को चुनावी गतिविधिका विषयमा उकालोका लागि बीपी अनमोलले गरेको कुराकानी:
आउँदो निर्वाचनमा कञ्चनपुर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको छ। तयारी कस्तो छ?
मतदाताको माझ गएर घरदैलो कार्यक्रम गर्ने, कोणसभा गर्ने लगायतका कामहरू भइरहेको छ। तयारी तीव्र रूपमा हामीले अगाडि बढाएका छौँ।
मतदाताको अपेक्षा के छ र तपाईंले के अजेण्डा लिएर मत मागिरहनुभएको छ?
नेकपा एमालेले यसअघि लिएका अजेण्डालाई पूर्णता दिन खोजिरहेको छ। यसअघि यस क्षेत्रबाट निर्वाचित एमाले सांसद दीपकप्रकाश भट्ट र म समानुपातिकमा हुँदा कै मुद्दाहरूलाई प्राथमिकतामा राखेका छौँ। दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको योजना, महाकाली करिडोर निर्माण, मझगाउँ विमानस्थल सञ्चालन, महाकाली अस्पतालको स्त्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ। कञ्चनपुरको घाँडीघासमा सिँचाइ र खानेपानीको समस्या छ त्यसलाई पनि समाधान गर्नुपर्ने छ। भीमदत्त नगरपालिकालाई स्मार्ट सिटी बनाउने भनेर १ अर्ब बजेट विनियोजन गरेका थियौँ। तर, अहिलेको सरकारले त्यो बजेट काटी दिएकाले अघि बढ्न सकेन त्यसलाई पुनः अघि बढाउने योजना छ। दोधारा चाँदनीलाई नमुना शहरका रूपमा विस्तार गर्ने र त्यहाँ रहेको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने लगायतका अजेण्डालाई महत्त्व दिएर जनताको मत मागिरहेका छौँ। यस क्षेत्रमा महिला हिंसा, बलात्कारका घटना बढ्दो अवस्थामा छन्। यिनको न्यूनीकरण गर्ने पनि मेरो योजनामा रहेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या रहेको छ। त्यसको पनि हामीले समाधान गर्नुपर्ने छ। युवाहरू विदेश पलायन भइरहेको अवस्थामा उनीहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने भनिरहेका छौँ।
तपाईंको जितको आधार के हो? मतदाताले किन भोट दिने ?
म समानुपातिकतर्फको उम्मेदवार हुँदा यस क्षेत्रका लागि जे जति काम गरेको छु। त्यसलाई यहाँका मतदाताले निकै राम्रोसँग बुझेका छन्। त्यो मेरो पहिलो आधार हो। अहिलेसम्म यो क्षेत्रले महिला प्रतिनिधि नपाएको अवस्थामा म पहिलो पटक प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा होमिएकी छु। त्यो अर्को आधार हो। तेस्रो जितको आधार भनेको आम जनतामा धेरै आशा र विश्वास भरोसा देखिएको छ। मतदाताले समानुपातिकतर्फको उम्मेदवार हुँदा राम्रो काम गरेकाले प्रत्यक्षतर्फ पनि विजयी भएपछि काम गर्नुहुन्छ भनिरहेका छन्। आम मतदाताले मलाई गरेको भरोसा र उहाँहरूमा देखिएको उत्साहको कारण नै मेरो जितको आधार हो।
सत्ता गठबन्धन एकातिर छ। तपाईंहरू पनि राप्रपाको सहयोगमा चुनाव लड्दै हुनुहुन्छ। तपाईंलाई चुनौती त होला नि?
माथि नेताहरूले गठबन्धन गरेका छन्। तर, जनताले गठबन्धनलाई चिन्दैनन्। जनताहरूले यहाँ जसलाई भोट दिने हो उसलाई मनमा राखिसक्नुभएको छ। त्यस कारणले हामी जित्ने सुनिश्चित छ।
जितेर गएपछि प्रतिनिधिले जनताको जनजीविकासँग जोडिएका सवालमा ध्यान नै दिँदैनन् भन्ने गुनासो गर्छन् नि ?
जितेर जाने नआउने भन्ने सवालमा घर घरमा त कोही पनि पुग्न सकेको छैन होला। निर्वाचित भएर पठाइसकेपछि त सदनमा बस्नुपर्ने पनि होला। यहाँका समस्या सदनमा उठाउनुपर्ने पनि होला। उहाँहरूलाई अप्ठ्यारो परेका बेला फोनबाट पनि समस्या समाधान गर्नुपर्छ होला। विगतमा हाम्रै पार्टीबाट निर्वाचित भएका दीपक भट्टले पनि यस क्षेत्रका समस्या समाधानका लागि महत्त्वपूर्ण पहल गर्नुभएको हो। म आफैँ पनि समानुपातिकबाट सांसद हुँदा पनि यस क्षेत्रको विकास निर्माण र यहाँका समस्या समाधानका लागि काम गरेको हो। जनताको चाहना के हुँदो रहेछ भने मेरो जनप्रतिनिधिले मलाई चिनोस् मेरो घरमा आइदिओस् भन्ने हुन्छ नै। जनप्रतिनिधिले ध्यान दिओस् भन्ने चाहना सबैमा हुन्छ नै। यद्यपि घर घरमा पुग्न कति सम्भव होला तर, के गर्नुपर्ने देखिरहेको छ भने जसरी मत माग्नका लागि टोल टोलमा जान्छौँ। त्यसपछि पनि हामीले टोल टोलमा गएर तपाईंका समस्या के छन् भनेर बुझ्नुपर्ने हुन्छ। म जितेर गइसकेपछि त्यसरी नै आफ्नो क्षेत्रमा काम गर्ने हो।
आफ्नो प्रतिस्पर्धीलाई कसरी हेर्नुभएको छ?
म र मेरा प्रतिस्पर्धीबीच मैले कुनै भिन्नता पाएको छैन। तर, महिला प्रतिस्पर्धी भइसकेपछि विपक्षीले यो कमजोर हो भनेर चित्रण गरिने रहेछ। त्यो भनेको सिंगो महिलामाथि नै प्रहार हो। महिलाले चुनाव जित्न सक्दैनन् भन्ने खालले जसरी प्रचार गरिएको छ। २०१५ सालमा द्वारिकादेवी ठकुरानीलाई यसै सुदूरपश्चिम क्षेत्रले जिताएको हो। महिला मन्त्री जन्माउने ठाउँ पनि यही हो। त्यस कारण मलाई जनताको सहयोग, समर्थन र साथ रहन्छ भन्नेमा म ढुक्क छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
