बीबीएलको ड्राफ्टमा परे नेपाली राष्ट्रिय टोलीमा आबद्ध पाँच खेलाडी

सन्दीपसँगै यसपटक आसिफ शेख र आरिफ शेखसहित पाँच नेपाली खेलाडी बीबीएलको ड्राफमा परेका छन्।

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका पाँच खेलाडी १३औँ संस्करणको बिग बास लिग (बीबीएल)को ड्राफमा परेका छन्।

क्रिकेट अस्ट्रेलियाले सोमबार प्रकाशित गरेको ड्राफमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी परेका हुन्।

सन्दीपले यसअघिका चार संस्करणको बीबीएल खेलिसकेका छन्। उनी गत वर्षको प्रतियोगिताको ड्राफ्टमा परे पनि अनसोल्ड भएका थिए।

चार चरणमा भएको ड्राफ्टमार्फत् २४ विदेशी खेलाडी विभिन्न टोलीमा आबद्ध हुँदा उनी बिक्न सकेनन्। उक्त संस्करणमा सन्दीपसँगै राष्ट्रिय टोलीका पूर्वसदस्य सुवास खकुरेल पनि पहिलोपटक ड्राफ्टमा परेका थिए। तर, उनी पनि बिक्न सकेनन्।

गत वर्षको संस्करणबाहेक सन्दीपले दुईपटक मेलवर्न स्टार र दुईपटक होर्बाट हरिकेन्सबाट बीबीएल खेलेका थिए। उनले बीबीएलका ४३ खेलमा ४८ विकेट लिएका छन्। सन्दीपसँगै यसपटक शेख दाजुभाइ आसिफ र आरिफ पनि पहिलोपटक ड्राफमा परेका छन्। उनीहरूबाहेक अर्जुन साउद र देव खनाल पनि ड्राफमा परेका छन्।

यस संस्करणको बीबीएल ड्राफ्टको मिति भने तय भइसकेको छैन। यद्यपि, प्रतियोगिता डिसेम्बर ७ बाट शुरू हुँदैछ।