बागलुङका चर्चितमध्येका काठेखोला–३ धम्जास्थित बेलढुंगा सामुदायिक होमस्टे, अतिथि सत्कार होमस्टेलगायतमा पनि पाहुना कम पुग्ने गरेका छन्। होमस्टेसहित जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्।
ढोरपाटन– बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) सुनसान बनेका छन्। घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको संख्या ह्वात्तै घटेको हो। घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्।
अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्। जिल्लाको चर्चित घरबासमध्येको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुंगा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुन्डेलगायतमा पाहुना कम पुग्ने गरेका छन्।
बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल, पञ्चकोट र शालिग्राम संग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ। पश्चिम बागलुङको ढोरपाटन र पातीहाल्नेमा पुग्ने पर्यटकको संख्यामा पनि कमी आएको छ। बेलढुंगा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने बताए। “असारयता फाट्टफुट्ट मात्रै पाहुना आएका छन्,” उनले भने।
बर्खाका कारण बेलढुंगासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ। गाउँसम्म पुग्ने सडक व्यवस्थित बनाउन नसक्दासम्म बर्खामा घरबास र पर्यटकीयस्थलमा पर्यटक भित्र्याउन नसकिने उनले बताए। “अहिले त घरबास बन्दजस्तै छ,” श्रीसले भने, “अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरू केही गर्न सकिएको छैन, भदौ १५ पछि पाहुना आउने अपेक्षा छ।”
घरबासमा आउने पाहुनालाई पूरै अग्र्यानिक उत्पादन खुवाउने उनको भनाइ छ। यहाँ विशेषगरी कोदोको ढिँडो, स्थानीय कुखुरा, खसी, बोकाको मासु, बाँकोको गुन्द्रुक र आलुका परिकार खुवाइने गरेको उनको भनाइ छ।
बागलुङ नगरपालिका–१० भकुन्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासको सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताए। बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ। बागलुङ बजारबाट यहाँ पुग्न करिब डेढ घण्टा लाग्छ। कहिलेकाहीँ मात्रै पाहुना घरबासमा बस्न आएको उनको भनाइ छ। तीज शुरू भयो भने पर्यटक बजारबाट भकुन्डे उक्लिन थाल्ने उनले बताए।
“बजारबाट दूरीका हिसाबले टाढा होइन, बागलुङ बजारबाट सबैभन्दा नजिकको घरबास नै हाम्रो हो, नजिक भएर के गर्नु सडकको अवस्था खराब छ, त्यसले गर्दा पाहुना आउन कम भएको छ,” उनले भने, “पाहुना नआएपछि घरको काम कम भएको छ, त्यही भएर घरबास सञ्चालक कोदो गोड्ने र मकै भित्र्याउने काममा व्यस्त हुनुहुन्छ, हिउँदमा धेरै पाहुना हुनुहुन्छ, त्यसबेलाका लागि चाहिने गुन्द्रुक, आलु जोहो गरेर राख्ने काम भएको छ।”
प्राकृतिक सुन्दरताले भरिएको भकुन्डेमा ताल, र दर्जनौँ हिमशृंखला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन्। हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत घरबास बनेको छ। घरबासले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भई पाहुनासँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रदर्शन गर्न सक्ने भएका छन्।
जिल्लाको विभिन्न स्थानमा घरबास सञ्चालनमा आएपछि मौलिक कला, संस्कृतिको जगेर्नासमेत हुन थालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
