ललिता निवास प्रकरणमा मंगलबार पनि जिल्ला अदालतमा बयान हुँदै

सोमबार अदालतले थुनामा रहेकामध्ये शिव भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान लिएको थियो। मंगलबार चार जनाको बयान लिने तयारी छ। 

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान मंगलबार पनि काठमाडौँ जिल्ला अदालतमा हुने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार मुद्दा दर्ता गरेको थियो।

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलको कार्यालयले भने पश्चातदर्शी कानून लगाउन नमिल्ने जनाउँदै किर्तेमा मुद्दा चलाएको हो।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्ये शिव भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान भएको थियो। उनीहरूको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको थियो। मंगलबार अदालतले चार जनाको बयान लिने तयारी गरेको छ।

ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा चार पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनाविरुद्ध किर्ते मुद्दा दायर गरेको छ।

जसमा मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाइएको छ। १८ जना थुनामा छन्।