तनहुँका युवाको क्रिकेटमा आकर्षण, मैदान अभाव

जिल्ला क्रिकेट संघले मैदान निर्माणबारे चासो देखाएको छ। व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्ने तयारी छ।

दमौली– पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढे पनि तनहुँमा क्रिकेट खेलमैदानको अभाव छ।

क्रिकेट खेलाडी चन्द्रकान्त पौडेलले जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान नभएको गुनासो गरे। दमौली पेलिकन्स क्लबले बेला–बेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ।

खेलमैदानकै अभावमा क्लबले व्यास–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ। “क्रिकेटमा राम्रो सम्भावना छ तर पर्याप्त लगानी हुन सकिरहेको छैन। यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ,” उनले भने।

यता, जिल्ला क्रिकेट संघले मैदान निर्माणबारे चासो देखाएको छ।  व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको निरीक्षण गरिएको छ।

“जिल्लामा क्रिकेटका गतिविधि बढ्दै छ, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन्। तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ,” तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिमिल्सिनाले भने, त्यसैले मैदान बनाउन लागेका छौँ।” राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ छ। 

नेपाल क्रिकेट संघ केन्द्रीय समिति र गण्डकी प्रादेशिक क्रिकेट संघले जिल्लामा मैदानको पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष तिमिल्सिनाले बताए।

खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको दमौलीका कविराज श्रेष्ठले बताए। “देशले पछिल्लो समय क्रिकेटमा ठूलो प्रगति गरेको छ, त्यसकै कारण पनि यहाँ खेलप्रति आकर्षण बढेको हो,” उनले भने, “अब मैदान बनाएर खेल्ने अवसर दिनुपर्छ।”