१० अर्ब विद्युत् महसुल नउठाउने कुलमान घिसिङलाई तत्काल निलम्बन गर्नुपर्छ: प्रेम सुवाल

डेडिकेटेड लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग मन्त्रीहरूकै साँठगाँठ रहेकाले छानबिन गरी कारबाही हुन जरुरी रहेको सुवालको भनाइ छ।

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले बिद्युत् महसुल उठाउन नसकेकाले घिसिङलाई पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने बताएका हुन्। त्यसैगरी, उनले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाए। 

“डेडिकेटेड लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ? छानबिन गरी कारबाही हुन जरुरी छ,” उनले भने, “बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ।”

राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा तीन प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरीतको प्रावधान यथावत् राखिएको भन्दै सुवालले आपत्ति जनाए। 

“निर्वाचन आयोगले निर्वाचनसम्बन्धी एकीकृत विधेयक मस्यौदा गरेको छ। तर, राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा तीन प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरीतको प्रावधान यथावत् राखिएको छ। यो मत सीमा हटाउन अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष भयो । तर फैसला भएको छैन,” उनले प्रश्न गरे, “के यो न्यायाधीश भागबन्डाको परिणाम हो?”