विश्वमै पहिलोपटक भेटियो मानव मस्तिष्कमा जीवित कीरा

जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

विश्वमै पहिलोपटक मानिसको मस्तिष्कमा जीवित कीरा भेटिएको छ। वैज्ञानिकहरूका अनुसार अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा ८ सेन्टिमिटरको जीवितै किरा भेटिएको हो।

गत वर्ष क्यानबेरामा गरिएको शल्यक्रियामा ती महिलाकाे टाउकाको अगाडिको भाग (फ्रन्टल लोब)मा रहेको तन्तुबाट धागो (स्ट्रिङ) जस्तो किरा निकालिएको बीबीसीले जनाएको छ। ६४ वर्षीया ती महिलालाई पेट दुख्ने, खाेकी लाग्ने, बिर्सिने जस्ता समस्या एकसाथ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे। त्यहाँ उनकाे सीटी स्क्यान गरियाे। त्यसमा उनकाे मस्तिष्कमा जुका जस्तै देखिने कीरा खेलिरहेकाे देखिएपछि शल्यक्रिया गरिएकाे थियाे।

अनुसन्धानमा खटिएका डाक्टरका अनुसार अस्ट्रेलियामा पाइने एक प्रकारकाे अजिङ्गर (कार्पेट पाइथन)मा ओफिडास्कारिस रोबर्टसी नामकाे त्याे जुका सहजै भेटिन्छ। ती महिलाले आफू बसेको स्थान नजिकै तालको छेउमा एक प्रकारको स्थानीय घाँस, वारिगल ग्रीन्स सङ्कलन गर्दा त्याे जुका समातिएको हुनसक्ने उनीहरुकाे भनाइ छ।

इमर्जिङ इन्फेक्सियस डिजिज जर्नलमा लेख्दै अष्ट्रेलियका परजीवी विज्ञानका विज्ञ मेहराव हुसेनले ती महिलाले पाइथनको मल र परजीविका अण्डाहरूबाट दुषित घाँसका बिरुवाहरू प्रयोग गरेपछि उनलाई यस्तो संक्रमण भएको आशंका गरेका छन् । 

जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।