पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्छ : पदम गिरी

एमाले प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्वनेता भएकाले फेरि सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका हुन्।

“पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वनेता हो हाम्रो पार्टीको। फेरि नेकपा एमालेमा आएर सक्रिय राजनीति गर्छु भन्ने हो भने कानूनले पनि रोक्दैन, संविधानले पनि रोक्दैन। पार्टीको विधानले पनि रोक्दैन,” उनले भने। 

यद्यपि, उनले राजनीतिमा आउनुभन्दा पहिला पूर्वराष्ट्रपति भण्डारीलाई गम्भीर भएर सोच्न आग्रह गरे। “आउने कि नआउने भन्नेबारेमा उहाँले राष्ट्रपतिमा जिम्मेवारी पूरा गरिसकेपछि अब गम्भीरताका साथ सोच विचार गरेर निर्णय गर्नुहुन्छ,” उनले भने।