माओवादीले अघि सारेको जातीय राज्यको दुष्परिणाम देखिन थाल्यो : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले विजारोपण गरेको जातीय विभाजनको दुष्परिणाम अहिले समाजमा देखिन थालेको टिप्पणी गरेका छन्।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादीले जातीय राज्यको अवधारणा अघि सार्दाको दुष्परिणाम अहिले समाजमा देखिन थालेको टिप्पणी गरेका छन्।

मंगलबार संघीय संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले माओवादीले जातीय विभाजनको विजारोपण गरेको र त्यसको दुष्परिणाम अहिले समाजमा देखिन थालेको टिप्पणी गरेका हुन्।

“नेकपा माओवादीले जुन किसिमको जातिय राज्यको अवधारणा अगाडि सारेर एक प्रकारले विभाजनको विजारोपण गर्‍यो, त्यसको दुष्परिणामहरू अहिले देखिन थालेका छन्,” उनले भने। उनले सामाजिक द्वन्द्वतर्फ समाजलाई धकेल्ने काम तत्काल रोक्नुपर्ने बताए।

उनले तत्कालै कोशी प्रदेश सरकारमा सहभागी हुन/नहुनेबारे राप्रपाले निर्णय गर्न हतार नगर्ने बताए। यथास्थितिमा कोशी प्रदेश सरकारमा सहभागी नहुने उनको दाबी छ। “अहिले हामीले कसैलाई सघाउने निणर्य गरेका छौनौँ, हतार गर्दैनौँ,” उनले भने। त्यस्तै, उनले बिनाशर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको दाबी गरे।