प्रधानमन्त्री–राप्रपाबीच कोशीमा सहयोग गर्ने भद्र सहमति भएको माओवादी सांसद दाहालको दाबी

माओवादी सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन्।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष लिङ्देनबीच भद्र सहमति भएको बताएका हुन्। सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको उनले जिकिर गरे।

“प्रधानमन्त्रीज्युसँग भद्र सहमति भएको छ, संघीय संसद्मा पनि उहाँहरूको भूमिका प्रभावकारी हुने। संसदीय भूमिकालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोगी भूमिका हुने र कोशी प्रदेशमा सरकार निर्माणमा उहाँहरूले सहयोग गर्ने भद्र सहमति अनुरूप नै हामीले संसदीय समिति दिएका छौँ,” उनले भने।

उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाका कारण सहमति सम्भव भएको बताए। उनले राप्रपाले कोशी प्रदेश सरकार निर्माणमा सघाउने पनि बताए।

तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने कोशी सरकार गठनमा सहयोग गर्ने शर्तबिना नै संसदीय समितिको नेतृत्व आफ्नो पार्टीले पाएको दाबी गरेका छन्। “समितिको सभापति र कोशी प्रदेशको सरकारलाई जोडने काम जुन भइरहेको छ त्यो नै गलत छ,” उनले भने। उनले कोशी प्रदेशको सरकार कांग्रेस र एमाले मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरूको अडान कायमै रहेको समेत बताए।