मोदी र सी जिनपिङको भेटवार्तालगत्तै भारतको भूभाग समेटेर चीनले ल्यायो नयाँ नक्सा

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भएकाे भेटवार्तामा सीमा विवादबारे छलफल भएकाे बताइएकाे थियाे।

अरुणाञ्चल प्रदेशकाे एक उपत्यका

काठमाडाैँ– चीनले भारतको अरुणाञ्चल प्रदेश र अक्साई चीन क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ। चीनकाे प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा राखेर औपचारिकरूपमा चीनले साेमबार आफ्नो नयाँ नक्सा जारी गरेको हो। 

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको थियो। भेटवार्तामा दुई देशको सीमा विवादबारे छलफल भएको भन्ने समाचार आइरहेका बेला चीनले विवादित नक्सा जारी गरेको हो। चिनियाँ अधिकारीहरूले देशकाे नक्सालाई विकासकाे संकेत भएकाे बताएका छन्।

चिनियाँ पत्रिका चाइना डेलीले मन्त्रालयका योजनाकारको भनाइलाई उद्धृत गर्दै लेखेको छ, ‘सर्भे नक्सांकन लगायत भौगोलिक सूचनाले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ।’

भारतका सम्बन्धित निकायले भने अहिलेसम्म यसबारेमा बोलेका छैनन्। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले भने नक्साको विरोध जनाएका छन्। 

उनले सामाजिक सन्जालमा लेखेका छन्–"अरुणाञ्चल प्रदेश र अक्साइ चीन भारतको एक अविभाज्य र अपरिहार्य भाग हुन्, जसलाई मनमानी रुपमा ल्याइएको नक्साले परिवर्तन गर्न सक्दैन।"

यस्तै, भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले भारतले अर्काे नेहरू सहन नसक्ने भन्दै लेखेका छन्,–"मोदीलाई भन्नुहोस् कि यदि उहाँले कुनै बाध्यताका कारण भारत माताको रक्षा गर्न सक्नुहुन्न भने कम्तीमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस्। भारतलाई झुटले बचाउन सकिँदैन। भारतले अर्को नेहरु सहन सक्दैन।"

चीनले अरुणाञ्चल प्रदेशलाई दक्षिण तिब्बत भनेर दाबी गर्दै आएको छ। यस्तै सन् १९६२ को युद्धमा कब्जा गरेको अक्साई चीनलाई चीनको हिस्सा भएको बताउँदै आएको छ।यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो। 

चीनले अरुणाञ्चल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग आफ्नाे दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ।

यस्तै चीनकाे यस नक्साले ताइवान र विवादित दक्षिणी चीन सागरलाई पनि समेटेको छ। चीनसँगै भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनाइ र ताइवानले दक्षिण चीन सागरमा आ-आफ्नो दाबी गर्दै आएका छन्।