एमालेले अन्य प्रतिपक्षीलाई मतलब नगरेको रास्वपाको गुनासो

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल एमालेले अरू विपक्षीको मतलब नगरी ‘मै लाऊँ मै खाऊँ’ भन्नेजस्तो व्यवहार गरेको टिप्पणी गरेका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अन्य प्रतिपक्षी दलहरूलाई मतलब नै नगरी संसदीय समिति सभापति लिएको गुनासो गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरू दलहरूप्रति मतलब नगरी समिति सभापति लिएर गल्ती गरेको बताएका हुन्। “प्रमुख प्रतिपक्षले अरू प्रतिपक्षी पार्टीहरूलाई कुनै मतलब नै नगरी मै खाऊँ मै लाऊँ जस्तो गर्‍यो,” उनले भने।

उनले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापतिको भागबन्डा गरेको जिकिर गरे। संसद्लाई प्रभावशाली र गतिशील बनाउन नभई संकुचित गराउने प्रयास भएको उनको भनाइ छ।

“समिति कुन नियतबाट बनाइएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यदि साँच्चिकै संसद्लाई प्रभावशाली बनाउने, संसद्लाई गतिशील बनाउने हिसाबमा लिएको हुन्थ्यो भने त्यो अर्कै हुन्थ्यो। यहाँ त नियत नै कस्तो छ भने त्यसलाई प्रभावकारी होइन कि संकुचन गर्ने,” उनले भने।

उनले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको जिकिर गरे। “लोकतान्त्रिक विधिलाई अप्ठ्यारोमा पार्ने र आफ्नो स्वार्थउपर प्रयोग गर्ने देखिएको भएर हामीले नलिएको हो,” उनको प्रस्ट्याए।