केएल राहुलले पाकिस्तान र नेपालसँगका दुई खेल गुमाउने

भारतीय विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एशिया कपका शुरूआतका दुई खेल गुमाउने भएका छन्।

काठमाडौँ– भारतीय विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एशिया कपका दुई खेल गुमाउने भएका छन्। श्रीलंका जानुअघि भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले केएलले पाकिस्तान र नेपालसँगको शुरूआति दुई खेल गुमाउने जानकारी दिएका हुन्।

द्रविडका अनुसार केएलसँगै श्रेयस अय्यरले पनि केही खेल गुमाउने छन्। तर, उनीहरू दुवैको फिटनेसबाट आफू खुशी रहेको उनले बताए। क्लोज क्यापमा दुवै खेलाडीले राम्रो ब्याटिङ गरेको उनले जानकारी दिए।

भारतले सेप्टेम्बर २ मा पाकिस्तान र ४ मा नेपालसँग खेल्ने छ। दुवै खेल श्रीलंकाको क्यान्डीमा हुने। केएल भारत सुपर–४ मा पुग्यो भने मैदानमा उत्रनेछन्।

“केएल राहुलले राम्रो ब्याटिङ गरेका छन्। उनले विकेटकिपिङ पनि गरिरहेका छन्। केही समयका लागि उनी एनसीएमा नै रहनेछन्। हामी सेप्टेम्बर ४ मा उनको फिटनेसको पुनः मूल्यांकन गर्नेछौँ। यदि फिट भए उनी श्रीलंका आउनेछन् भन्नेमा आशावादी छौँ,” द्रविडले भने।

दुवै खेलाडी घाइते भएसँगै नम्बर चार र पाँचमा को उत्रिने हुन् भन्ने प्रश्न उब्जिएको छ। पछिल्लो १८ महिनामा यस अर्डरमा तीन खेलाडीहरू श्रेयस अय्यर, केएल राहुल र ऋषभ पन्त प्रयोग भएका थिए। यद्यपि, दुई महिनायता तीनै खेलाडी घाइते भएका छन्। तीनै खेलाडीको शल्यक्रिया पनि गरिएको थियो।

“त्यसैले हामीले विभिन्न खेलाडीहरू प्रयोग गर्‍यौँ। हामी विश्वकपका लागि तयार हुनुपर्छ। विश्वकपमा के हुने हो थाहा छैन। त्यसैले हामीले क्रमशः दुई–तीन खेलाडीलाई निरन्तर मौका दियौँ,” द्रविडले भने।