नेपाल एशिया कप खेल्न लागेको तेस्रो एसोसिएट टोली हो। यसअघि हङकङ र यूएईले मात्रै एशिया कप खेलेका थिए।
काठमाडौँ– एशिया कप क्रिकेटको पहिलो (उद्घाटन) खेलमा बुधबार नेपाल र घरेलु टोली पाकिस्तान भिड्दै छन्। १६औँ संस्करणको एशिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजे हुनेछ।
नेपाली क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्रसँग खेल्न लागेको हो। नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुनेछ।
नेपाल एसिया कप खेल्ने आठौँ टोली र यस्तै, तेस्रो एसोसिएट टोली पनि बन्दैछ। यसअघि एसोसिएट राष्ट्र हङकङ र यूएईले मात्रै एशिया कप खेलेका थिए। हङकङले सन् २००४, २००८, २०१८ र २०२२ मा एशिया कप खेलेको थियो।
यूएईले २००४, २००८ र २०१६ मा एशिया कप खेलेको थियो। तर, दुवै टोली टेस्ट राष्ट्रसँग पराजित हुँदा समूह चरण पार गर्न सकेनन्।
पाकिस्तान ओडीआई वरियता शीर्ष र नेपाल १५औँ स्थानमा छ। सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता पाकिस्तानसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने नेपालका कप्तान रोहित पौडेल बताउँछन्। “हामी पहिलोपटक एशिया कप खेल्दैछौँ। हाम्रा लागि यो ठूलो उपलब्धि हो। ठूलो अवसर पनि हो। पाकिस्तान निकै राम्रो टिम हो,” मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “ हामी पाकिस्तान र भारतसँग प्रतिस्पर्धात्मक खेल खेल्न चाहन्छौँ।”
नेपाल एशिया कपका लागि योग्य भएर नै खेल्न लागेको उनको भनाइ छ। “योग्य भएर नै यहाँ आएका छौँ। हामी प्रतिस्पर्धात्मक म्याच खेल्छौँ। पाकिस्तान र नेपालबीच अनुभवको फरक हो। बलिङ, ब्याटिङको कौशल एकै हो दुवै टिमको,” कप्तान रोहितले भने, “अनुभवको कुरा गर्दा पाकिस्तान अनुभवी टिम छ। दुवै टिमसँग विश्वस्तरीय ब्याटर र बलर छन्। हाम्रो लक्ष्य भनेको वान बल ब्याटल हो।”
आफूहरू एक पटक एक बललाई मात्रै केन्द्रित भएर खेल्ने उनको भनाइ छ। “हामी विपक्षी टिम कस्तोभन्दा पनि एक बललाई फोकस गर्छौं, हामीले राम्रो तयारी गरेका छौँ। जिम्बावेमा विश्वकप छनोट र श्रीलंकामा इमर्जिङ टिम्स एशिया कप खेलेका छौँ,” उनले भने, “त्यसैले मेरो विचारमा हाम्रो राम्रो तयारी भएको छ। पाकिस्तानी खेलाडीहरू विश्वस्तरीय होलान् तर, हामी एक बललाई मात्रै फोकस गर्न चाहन्छौँ।”
एशिया कप पाकिस्तान र श्रीलंकाले सञ्चालन गर्दैछन्। गत वैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एशिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको थियो ।
एशिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन्। प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहनेछ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
नेपालले समूह चरणको दोस्रो खेल भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
