चन्द्रमामा अक्सिजनको संकेत भेटिएको ‘ईसरो’को दाबी

अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभरले अक्सिजनसहित धेरै खनिज पदार्थ रहेको संकेत फेला पारेको ईसरोले जनाएको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो)ले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ उपस्थितिको संकेत फेला परेको जनाएको छ। 

गत अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभरले अक्सिजनको संकेत फेला पारेको ईसरोको दाबी छ।

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस) उपकरणले पत्ता लगाएको थियो ।

“तथ्यांक संकलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन्। टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिज पदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ। हाइड्रोजनको खोजी जारी छ,” इसरोले भनेको छ।

एलआईबीएस उपकरण दक्षिणी शहर बेंगलुरुस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको ईसरोले जनाएको छ।